तेह्रथुम, असोज १७ गते
तेह्रथुमको म्याङलुङ बजारमा दसैं, तिहार पर्वका बेला यात्रुहरुलाई सुरक्षित यात्राको व्यावस्था मिलाउन यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।जिल्ला प्रहरी कार्यालय तेह्रथुम र अस्थाई ट्राफिक प्रहरी पोष्ट म्याङलुङले स्थापना गरेको यात्रु सहायता कक्षको प्रमुख जिल्ला अधिकारी मिना अर्यालले उद्ध्घाटन गर्नुभएको हो । सहायता कक्षको स्थपाना गर्दै प्रमुख जिल्ला अधिकारी अर्यालले दसैं तिहारको समयमा बसपार्क क्षेत्रमा भीड हुने भएकाले नागरिकको सहजताको लागि सहायता कक्ष स्थापना गरिएको बताउनुभयो ।

यात्रु सहायता कक्ष उद्ध्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी मिना अर्याल
यो अवधिमा दुर्घटना हुने भएकाले सवारी चेक जाँच, ओभर लोड र मापासे चेकजाँचलाई कडाइका साथ लागु गर्ने जिल्ला प्रहरी कार्यालय तेह्रथुमका निमित्त प्रमुख प्रहरी निरिक्षक प्रमोद खड्काले बताउनुभयो ।यात्रा गर्दा नागरिकले अनावश्यक सास्ती भोग्नुपर्ने, लुटिने तथा कुटिने चर्को मूल्य तिनु पर्ने समेतका घटनालाई मध्यनजर गरी यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।सहायता कक्षबाट सवै नागरिकलाई सचेत भएर यात्रा गर्नका लागि जनचेतना फैलाउने काम प्रहरीले गर्ने छ ।सहज र सरल तरिकावाट यात्राका लागि वातावरण तयार गर्न यात्रु र सम्वन्धित यातायात व्यवसायी संघ, सँस्थासँग समन्वय गर्ने काम प्रहरीले गर्नेछ ।

चाड पर्वका बेला हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण गर्न र सहज यात्राका लागि पनि यात्रु सहायता कक्षबाट काम हुने छ । सहायता कक्षमा चौबिसै घण्टा प्रहरीहरुले सेवा प्रदान गर्नेछ । यात्रुहरुलाई सजग र सुरक्षित यात्राका लागि समय समयमा जनचेतना मूलक सन्देश प्रवाह प्रहरीले गर्नेछ ।यात्रु सहायता कक्षमा नागरिकले आफ्ना समस्या र गुनासाहरु पनि राख्न सक्नेछन् ।








