तेह्रथुम/नेपाल पत्रकार महासंघ यूके शाखाको नेतृत्व हाल बिमला सेनेले सम्हालिरहनुभएको छ । २०८१ असार ३० गते सम्पन्न निर्वाचनबाट उहाँ अध्यक्षमा निर्वाचित हुनुभएको हो । यससँगै उहाँ महासंघ यूकेको इतिहासमा पहिलो महिला अध्यक्ष बन्न सफल हुनुभएको छ ।
पत्रकारिता तथा सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएकी सेने नेपाल आदिवासी जनजाति महासंघ यूकेको पूर्वमहासचिव समेत हुनुहुन्छ । उहाँले सञ्चालन गर्दै आउनुभएको “गोर्खा च्यानल मिडिया” बेलायतस्थित नेपाली समुदायबीच लोकप्रिय सञ्चार माध्यमका रूपमा परिचित छ ।

तेह्रथुमको सोल्मास्थित रत्न माध्यमिक विद्यालयबाट जनजातितर्फ एसएलसी उत्तीर्ण गर्ने पहिलो महिला तथा उच्च शिक्षा हासिल गर्ने पहिलो महिलामध्ये एकका रूपमा उहाँ चिनिनुहुन्छ । अध्ययन, परिवार र पेशालाई सन्तुलित रूपमा अघि बढाउँदै उहाँले आफ्नो जीवनयात्रालाई निरन्तर संघर्ष र सफलतासँग जोड्नुभएको छ ।
विवाहपछि श्रीमान्सँग हङकङ पुग्नुभएकी उहाँले त्यहाँ वीएफएस रेडियो (ब्रिटिस फोर्सेस ब्रडकास्टिङ सर्भिस) मा काम गर्दै व्यावसायिक जीवनको सुरुआत गर्नुभएको थियो । नेपाल फर्किएपछि एकाउण्टेन्टका रूपमा काम गर्नुका साथै सप्तकोशी एफएममार्फत समाचार वाचन तथा कार्यक्रम सञ्चालन गरेर सञ्चार क्षेत्रमा आफ्नो सक्रियता विस्तार गर्नुभयो ।

महिला आर्थिक रूपमा सक्षम र आत्मनिर्भर नभएसम्म समाजमा वास्तविक परिवर्तन सम्भव हुँदैन भन्ने विश्वासका साथ उहाँले इटहरीका महिला साथीहरूसँग मिलेर महिला बचत तथा ऋण सहकारी स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । उक्त सहकारी आज महिलाद्वारा सञ्चालित सफल संस्थामध्ये एकका रूपमा परिचित छ ।
सञ्चार क्षेत्रसँगै सामाजिक सेवा, सहकारी अभियान तथा संस्थागत नेतृत्वमा पनि उहाँको सक्रिय भूमिका रहँदै आएको छ । इटहरी जेसीसको अध्यक्षका रूपमा नेतृत्व सम्हाल्नुभएकी उहाँ रेडक्रस सोसाइटी, रोटरी क्लब इटहरीलगायत विभिन्न सामाजिक संस्थामार्फत समाजसेवामा निरन्तर सक्रिय रहनुभयो ।
सन् २००९ मा बेलायत पुगेपछि नयाँ परिवेश, भाषा र परिस्थितिसँग संघर्ष गर्दै उहाँले जीवनलाई पुनः शून्यबाट सुरु गर्नुभयो । निरन्तर मेहनत र आत्मविश्वासका साथ अघि बढ्दै हाल उहाँ लन्डनस्थित एक सरकारी अस्पतालको सर्जरी विभागमा कार्यरत हुनुहुन्छ ।

बेलायत बसाइँका क्रममा पनि उहाँ विभिन्न सामाजिक तथा सांस्कृतिक संस्थामा सक्रिय रहनुभयो । किरात याक्थुङ चुम्लुङ यूकेको सचिव र उपाध्यक्ष, नेपाल आदिवासी जनजाति महिला महासंघ बेलायतकी संस्थापक महासचिव तथा नेपाल आदिवासी जनजाति महासंघ यूकेको महासचिवका रूपमा उहाँले महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुभएको छ । साथै, सेवारो कलाकार संघ यूकेमा पनि उहाँको सक्रिय भूमिका रहँदै आएको छ ।
व्यस्त जीवनशैलीका बाबजुद पनि उहाँले सञ्चार क्षेत्रलाई निरन्तरता दिनुभयो । नेपाली टिभी यूकेमार्फत समाचार वाचन तथा “नमस्ते युरोप” कार्यक्रम सञ्चालन गर्नुभएकी उहाँले पछि सहकर्मीहरूसँग मिलेर “गोर्खा च्यानल” स्थापना गर्नुभयो । हाल उक्त माध्यममार्फत समाचार, अन्तर्वार्ता तथा विभिन्न सामाजिक गतिविधिहरू नियमित रूपमा प्रसारण हुँदै आएका छन् ।
नेपाल पत्रकार महासंघ (एफएनजे) यूकेको उपाध्यक्षको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेपछि अध्यक्षमा निर्वाचित हुँदै उहाँले महिला नेतृत्वको नयाँ इतिहास रच्नुभएको हो ।

हाल श्रीमान् र एक छोरासहित बेलायतको राजधानी लन्डनमा बसोबास गरिरहनुभएकी उहाँले विभिन्न सम्मान तथा पुरस्कार प्राप्त गर्नुभएको छ । “आदिवासी वर्ष महिला २०२४” सम्मानसहित महिला सशक्तीकरण, पत्रकारिता, सामाजिक सेवा तथा कला–संस्कृतिमा पुर्याउनुभएको योगदानका लागि विभिन्न संघसंस्थाबाट सम्मानित हुनुभएको छ ।
परदेशमा रहेर पनि परिवार, पेशा, समाजसेवा र नेतृत्वलाई सन्तुलित रूपमा अघि बढाउँदै समाजमा सकारात्मक योगदान दिन सकिन्छ भन्ने प्रेरणादायी उदाहरणका रूपमा बिमला सेने आज धेरै नेपाली महिलाका लागि प्रेरणाको स्रोत बन्नुभएको छ ।
साभार– एभरेष्ट टाईम युके