
तेह्रथुम, २० जेठ
तेह्रथुमको म्याङ्लुङ नगरपालिका–६ स्थित भुसुने जिपतारे सामुदायिक वनबाट यार्सागुम्बा संकलन गरिरहेको अवस्थामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय तेह्रथुमका अनुसार प्रहरी निरीक्षक राजाबाबु ठाकुरको कमाण्डमा खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा मंगलबार दिउसो करिब साडे ३ बजे तिर उक्त क्षेत्रमा छापा मारेर चार जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा संखुवासभा मादी नगरपालिका–९ का जीवन लिम्बु, कर्णबहादुर लिम्बु, बादल लिम्बु र हर्कबहादुर श्रेष्ठ रहेका छन्।
प्रहरीका अनुसार उनीहरूको साथबाट १३ थान यार्सागुम्बा र ९ थान मोटरसाइकल बरामद गरिएको छ। बरामद सामग्रीसहित पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय तेह्रथुममा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
यार्सागुम्बा संकलन तथा ओसारपसार सम्बन्धी कानुनी व्यवस्था विपरीत गतिविधि हुन नदिन प्रहरीले निगरानी र नियन्त्रणलाई थप प्रभावकारी बनाएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
.