
तेह्रथुम, म्याङलुङ — म्याङलुङ नगरपालिकाले ‘पूर्णखोप सुनिश्चितता तथा दिगोपना’ को घोषणा गरेको छ। नगरपालिकाको स्वास्थ्य शाखाद्वारा आयोजित एक विशेष समारोहमा म्याङलुङ नगरपालिका पूर्णखोप सुनिश्चित नगर घोषणा गरिएको हो।
म्याङलुङ नगरपालिका–२ स्थित दुहबेले हलमा आयोजित कार्यक्रममा स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि, विभिन्न विद्यालयका प्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, कर्मचारी तथा सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी सबैले खोपको महत्व, पहुँच र स्थानीय सहकार्यको प्रभावकारिताको चर्चा गरे।
ूस्वस्थ परिवार, सुरक्षित भविष्यू भन्ने नाराका साथ गरिएको कार्यक्रममा ुस्थानीय सरकारको उत्साह, सहभागिता र सहकार्यबाट पूर्णखोप सुनिश्चितता सम्भव छु भन्ने सन्देश दिइएको थियो। स्वास्थ्य शाखाका प्रमुख, नगरप्रमुखलगायत वक्ताहरूले बालबालिकालाई नियमित खोपको पहुँच सुनिश्चित गर्दै दिगो स्वास्थ्य प्रवर्धनको दिशामा थप कदम चालिने प्रतिबद्धता व्यक्त गरे।
यो घोषणाले म्याङलुङ नगरपालिकालाई सार्वजनिक स्वास्थ्य सेवा प्रवर्द्धनमा नयाँ सफलताको शिखरमा पुर्याएको छ। कार्यक्रम अन्त्यमा सहभागिता जनाएका सम्पूर्ण व्यक्तित्वहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो।
तेह्रथुम — म्याङलुङ नगरपालिकाले स्थानीय शासन सुदृढ गर्दै वित्तीय पारदर्शिता कायम गर्न आर्थिक ऐन २०८१ सार्वजनिक गरेको छ। कोशी प्रदेश अन्तर्गत पर्ने म्याङलुङ नगरपालिकाले उक्त ऐन सार्वजनिक गर्दै बजेटको विनियोजन, राजस्व संकलन, खर्च व्यवस्थापन लगायतका विषयमा स्पष्ट नीति तय गरेको छ।
नगरपालिकाको लोगो सहित सार्वजनिक गरिएको सो दस्तावेजमा नगरबासीको हितलाई मध्यनजर गर्दै स्रोत व्यवस्थापन, सेवा प्रवाह, अनुदान वितरण, कर प्रणाली, सार्वजनिक खर्च तथा लेखाप्रणालीको स्पष्ट खाका कोरिएको छ।
नगरप्रमुखको नेतृत्वमा तयार पारिएको यो आर्थिक ऐनले स्थानीय तहमा आर्थिक अनुशासन र जवाफदेहिता थप मजबुत बनाउने अपेक्षा गरिएको छ। ऐनले नगरपालिकाको आर्थिक कार्यसम्पादनलाई विधिसम्मत बनाउने र स्थानीय योजना, कार्यक्रम तथा परियोजनामा पारदर्शिता ल्याउने जनाइएको छ।
म्याङलुङ, तेह्रथुमको स्थानीय सरकारको यो पहलले वित्तीय सुशासनको नमूना प्रस्तुत गर्ने र प्रदेश तथा संघीय सरकारसँग समेत समन्वयमा रहँदै विकासका कार्यलाई अगाडि बढाउने विश्वास गरिएको म्याङलुङ नगरपालिकाका प्रमुख संजयकुमार तुम्बाहाङफेले जानकारी दिनुभयो ।
धनकुटा — कोशी प्रदेश अन्तर्गत पर्ने छथर जोरपाटी गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधारलाई दिगो विकासको मुख्य आधार मानेर आगामी योजना र कार्यक्रमहरू अघि बढाउने प्रतिबद्धता जनाएको छ।
गाउँपालिकाको कार्यालय धनकुटामा रहेको छ। “शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार – छथर जोरपाटी दिगो विकासको आधार” भन्ने मूल नाराका साथ गाउँपालिकाले समावेशी र समृद्धि उन्मुख योजनाहरूको तयारी थालेको छ।
स्थानीय सरकारको यो दृष्टिकोणले गाउँपालिकाको सामाजिक–आर्थिक रुपान्तरणमा मद्दत पुग्ने विश्वास गरिएको छ। गाउँपालिकाले विशेषगरी आधारभूत सेवा, रोजगारी सिर्जना, ग्रामीण पूर्वाधार विस्तार, तथा पर्यटकीय सम्भावनाको विकासमा ध्यान केन्द्रित गर्दै आएको छ।
छथर जोरपाटीको दिगो विकासका लागि स्थानीयवासी, जनप्रतिनिधि र सरकारी संयन्त्रबीचको सहकार्य अझ सशक्त बनाउने लक्ष्य लिएको गाउपालिकाका अध्यक्ष छत्र बहादुर सुब्बाले जानकारी दिनुभयो । ।
तेह्रथुम, — छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बुको सक्रिय पहलमा आ.व. २०८१/८२ मा स्थानीय सरकार तथा स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय, इटहरीमार्फत गरी कुल ५ वटा महत्वपूर्ण पूर्वाधार योजनाहरू छथर गाउँपालिकामा कार्यान्वयनमा ल्याइने भएको छ।
परोपकारी नेतृत्व र योजनाबद्ध प्रयासमार्फत अध्यक्ष लिम्बुले गाउँपालिकामा विकासको गति तेज बनाउन यी परियोजनाहरू ल्याएका हुन्। इटहरीस्थित आयोजना कार्यालयमार्फत सञ्चालन हुने योजनाहरू यसप्रकार छन्:
१. नमूना एकीकृत बस्ती निर्माण योजनाका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको छ।
२. टुक्रे–सुनाप सडक स्तरोन्नति योजना अन्तर्गत ६० लाख रुपैयाँको बजेट स्वीकृत भएको छ।
३. शुक्रबारे–सौरैनी सडक स्तरोन्नति योजनामा १ करोड ४० लाख रुपैयाँ खर्च हुनेछ।
४. लखु सॉय लिफ्ट खानेपानी तथा सिंचाइ योजनाका लागि १ करोड २५ लाख रुपैयाँ विनियोजन गरिएको छ।
५. भालेपोखरी नाङलुङ–आदिवासी सडक निर्माण (च्याललुङ गुम्बा मञ्चहुँद राम नवमी ओढार देउराली र शुक्रबारे हुँदै) का लागि ३ करोड रुपैयाँको योजना स्वीकृत भएको छ।
अध्यक्ष लिम्बुले यस कदमलाई छथर गाउँपालिकाको समग्र विकासको लागि ‘उत्कृष्ट अवसर’ भएको बताएका छन्। स्थानीयवासीले पनि यी योजनालाई स्वागत गर्दै छिट्टै कार्यान्वयनको अपेक्षा गरेका छन्।
गाउँपालिकाले आगामी दिनहरूमा थप विकास परियोजना ल्याउने प्रतिबद्धता समेत जनाएको छ।
तेह्रथुम, असार ५ — तेह्रथुम जिल्लाको छथर गाउँपालिकाले स्थानीयवासीलाई लक्षित गर्दै ६ प्रकारका निःशुल्क सेवा सुरु गरेको छ। गाउँपालिकाले विशेषतः वृद्ध, अशक्त, महिला, बालबालिका र विपन्न वर्गलाई लक्षित गरी यी सेवा प्रदान गर्ने घोषणा गरेको हो।
गाउँपालिकाका अनुसार निःशुल्क सेवा अन्तर्गत:
-
ज्येष्ठ नागरिकलाई वार्षिक निःशुल्क उपचार सेवा उपलब्ध गराइनेछ।
-
मलामी खर्च स्वरूप प्रतिव्यक्ति रु. ५,००० नगद सहयोग गरिनेछ।
-
शव ओसारपसारका लागि ट्र्याक्टर सेवा सञ्चालन गरिनेछ।
-
विवाह, ब्रतबन्ध तथा सामाजिक कार्यमा ट्र्याक्टरमार्फत निःशुल्क खानेपानी सेवा उपलब्ध हुनेछ।
-
ज्येष्ठ नागरिक, पूर्ण अपाङ्ग, एकल महिला तथा गर्भवती महिलालाई पालिकाको मित्रमुख कार्यक्रम मार्फत सघाउनेछ।
-
असहाय, अनाथ, अपाङ्ग तथा संकटमा परेका बालबालिकालाई घर तथा पुनःस्थापना सहयोग कार्यक्रम लागू गरिनेछ।
गाउँपालिका अध्यक्षले जनताको प्रत्यक्ष जीवनसँग सम्बन्धित सेवाहरूमा प्राथमिकता दिँदै समाजका सबै वर्गलाई समेट्न यी कार्यक्रम ल्याइएको जानकारी दिएका छन्।
स्थानीयवासीले पालिकाको यो प्रयासलाई स्वागत गरेका छन्। जनतासँग प्रत्यक्ष जोडिने सेवा विस्तारले ग्रामीण जनजीवनमा राहत पुग्ने अपेक्षा गरिएको छथर गाउपालिकाका अध्यक्ष सन्तविर लिम्बु (सन्तोष तिगेला)ले जानकारी दिनुभयो ।




