तेह्रथुम ।
तेह्रथुम जिल्लाको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस का उम्मेदवार सन्तोष सुब्बा विजयी हुनुभएको छ। सुब्बाले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार भानुभक्त ढकाललाई ८ सय ७९ मतले पराजित गर्दै विजय हासिल गर्नुभएको हो।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सुब्बाले कुल ११ हजार ५ सय ६१ मत प्राप्त गर्नुभएको छ भने ढकालले १० हजार ६ सय ८२ मत प्राप्त गर्नुभएको छ। मतगणना सकिएपछि सार्वजनिक गरिएको आधिकारिक परिणामअनुसार सुब्बा तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो।
४८ वर्षीय सुब्बा म्याङलुङ नगरपालिकाका स्थायी बासिन्दा हुनुहुन्छ। विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका उहाँले लामो समयदेखि नेपाली कांग्रेसको संगठन विस्तार तथा पार्टी गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ। उहाँले नेपाली कांग्रेस तेह्रथुम जिल्ला कार्यसमितिमा सचिव को जिम्मेवारी समेत सम्हालिसक्नुभएको छ।
पार्टीको महाधिवेशन प्रतिनिधि समेत रहनुभएका सुब्बा जिल्लामा विशेषगरी युवामाझ लोकप्रिय नेताका रूपमा चिनिनुहुन्छ। सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएका सुब्बाले यसपटकको निर्वाचनमा व्यापक जनसमर्थन प्राप्त गर्दै प्रतिनिधिसभामा स्थान सुरक्षित गर्नुभएको हो।
यसअघि २०७९ सालको प्रदेशसभा निर्वाचन मा भने उहाँ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार किशोरचन्द्र दुलालसँग पराजित हुनुभएको थियो। तर यसपटकको प्रतिनिधिसभा निर्वाचनमा भने मतदाताले उहाँलाई विश्वास गर्दै विजयी बनाएका छन्।
यस निर्वाचनमा अन्य दलका उम्मेदवारहरूले पनि उल्लेखनीय मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार सुरेन्द्र कार्कीले ७ हजार ७ सय ३७ मत प्राप्त गर्नुभएको छ भने श्रम संस्कृति पार्टीका सुविन्द्र कुमार लिम्बुले ५ हजार २ सय मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत दिलकुमार बर्देवाले जानकारी दिनुभयो।
निर्वाचन परिणाम सार्वजनिक भएसँगै तेह्रथुममा नेपाली कांग्रेसका कार्यकर्ता तथा समर्थकहरू उत्साहित बनेका छन्। सुब्बाले पनि मतदाताप्रति आभार व्यक्त गर्दै जिल्लाको विकास, रोजगारी सिर्जना, शिक्षा तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
तेह्रथुमका मतदाताले दिएको जनमतलाई सम्मान गर्दै जिल्लाको समग्र विकास र जनअपेक्षाअनुसार काम गर्ने उहाँको भनाइ छ।








