२०८३ बैशाख ३० बुधबार

तेह्रथुममा पहिलोपटक ‘सट्टा बिदा’ कार्यान्वयन, प्रहरी कर्मचारीमा नयाँ उत्साह।

तेह्रथुम, जिल्ला प्रहरी कार्यालय तेह्रथुमले प्रहरी संगठनभित्र वर्षौंदेखि उठ्दै आएको बिदा सम्बन्धी गुनासो सम्बोधन गर्दै पहिलोपटक “सट्टा बिदा” कार्यान्वयनमा ल्याएको छ। सार्वजनिक बिदाका दिन ड्युटी गर्ने प्रहरी कर्मचारीलाई त्यसको सट्टामा कानुनी व्यवस्था अनुसार तलबी बिदा उपलब्ध गराउन थालिएको हो।

प्रहरी संगठनमा लामो समयदेखि आवश्यक परेको बेला बिदा नपाइने, मागअनुसार बिदा स्वीकृत नहुने तथा घर बिदा र भैपरी आउने बिदासमेत पूर्ण रूपमा उपयोग गर्न नपाइने समस्या रहँदै आएको थियो। वार्षिक रूपमा उपलब्ध ३० दिन घर बिदा र १२ दिन भैपरी आउने बिदा समेत व्यवहारमा उपयोग गर्न कठिन हुँदा धेरै प्रहरी कर्मचारी पारिवारिक जिम्मेवारी पूरा गर्न, सामाजिक कार्यक्रममा सहभागी हुन तथा मानसिक रूपमा विश्राम लिनबाट वञ्चित हुँदै आएका थिए।

यसले प्रहरी कर्मचारीको मानसिक स्वास्थ्य, पारिवारिक सम्बन्ध र कार्यक्षमतामा समेत असर परेको गुनासो बारम्बार उठ्दै आएको थियो। यही अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय तेह्रथुमले प्रहरी नियमावली, २०७१ को परिच्छेद–८ अन्तर्गत नियम ८५ मा व्यवस्था गरिएको “सट्टा बिदा” प्रभावकारी रूपमा लागू गरेको हो। उक्त नियम अनुसार सार्वजनिक बिदाको दिन काम गर्ने प्रहरी कर्मचारीलाई एक पटकमा बढीमा सात दिनसम्म सट्टा तलबी बिदा प्रदान गर्न सकिने व्यवस्था छ।

कार्यालयले लामो समयदेखि बिदा नलिएका प्रहरी कर्मचारीको विवरण संकलन गरी अनिवार्य रूपमा बिदा उपयोग गर्न निर्देशनसमेत दिएको छ। तीन महिना वा सोभन्दा बढी समयसम्म बिदा नलिने कर्मचारीसँग कारण सोधेर बिदा बस्न प्रोत्साहित गर्ने व्यवस्था मिलाइएको छ।

यस अभियान अन्तर्गत विशाल खड्का सट्टा बिदा उपयोग गर्ने पहिलो प्रहरी कर्मचारी बनेका छन्। हालसम्म जिल्लाभरका आठ जना प्रहरी कर्मचारीले यो सुविधा उपयोग गरिसकेका छन्।

प्रहरी कर्मचारीहरूले जीवनमै पहिलोपटक कानुनले सुनिश्चित गरेको सुविधा व्यवहारमा लागू हुँदा आफूहरूमा उत्साह, सन्तुष्टि र सकारात्मक मनोबल वृद्धि भएको बताएका छन्। लामो समयपछि परिवारसँग समय बिताउन र व्यक्तिगत जिम्मेवारी पूरा गर्न पाउँदा उनीहरू भावुक समेत बनेका छन्।

यसअघि नियमावलीमा स्पष्ट व्यवस्था हुँदाहुँदै पनि व्यवहारमा कार्यान्वयन नभएको भन्दै Arhat Sambuddha Chand ले उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमक्ष उजुरी दिएका थिए। त्यसपछि नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गतको कानून शाखाले २०८१ वैशाख १० गते सट्टा बिदा कार्यान्वयन गर्न निर्देशन जारी गरेको थियो।

जिल्ला प्रहरी कार्यालय तेह्रथुमले सुरु गरेको यो अभ्यासलाई प्रहरी संगठनभित्र कर्मचारीमैत्री कार्यसंस्कृति विकासतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। यसले प्रहरी कर्मचारीको मनोबल अभिवृद्धि गर्नुका साथै सेवा प्रवाहलाई अझ प्रभावकारी, जिम्मेवार र मानवीय बनाउने विश्वास गरिएको छ। साथै, यो अभ्यासले देशभरका अन्य प्रहरी कार्यालयहरूलाई पनि नियमावलीमा रहेको व्यवस्था व्यवहारमा लागू गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।

Picture of तेह्रथुम मिडिया

तेह्रथुम मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।