२०८३ बैशाख ३० बुधबार

बाँदर आतंकविरुद्ध लालीगुराँस नरपालिकाको सामूहिक अभियान ।

तेह्रथुम — कृषिबालीमा निरन्तर क्षति पुग्न थालेपछि तेह्रथुमको लालीगुराँस नगरपालिकाले बाँदर आतंक नियन्त्रणका लागि सामूहिक अभियान सञ्चालन गर्ने भएको छ। नगरपालिकाले जेठ १ र २ गते नगरव्यापी रूपमा बाँदर धपाउने कार्यक्रम आयोजना गर्दै सम्पूर्ण नगरवासीलाई सक्रिय सहभागिताका लागि आह्वान गरेको हो।

अभियानमा सहभागी हुन स्थानीयलाई ग्याट्टीस, ढुंगा तथा परम्परागत रूपमा प्रयोग हुने सामग्री साथमा ल्याउन अनुरोध गरिएको छ। ती दुई दिन अत्यावश्यक सेवाबाहेक नगरपालिका कार्यालयका नियमित सेवा बन्द रहने जनाइएको छ।

नगरप्रमुख अर्जुनबाबु माबुहाङले बाँदरको बढ्दो आतंकले किसानको दैनिकी नै संकटमा पारेको बताए। उनका अनुसार वर्षभरिको मेहनत र लगानीबाट उत्पादन गरिएको मकै, आलु, कोदो, तरकारीलगायतका बाली बाँदरले नष्ट गरिरहेका छन्।

“किसानले खेतमा लगाएको बाली जोगाउनै मुस्किल भएको छ। यसले कृषिमा निर्भर परिवारको जीविकोपार्जन नै संकटमा पारेको छ,” मेयर माबुहाङले भने, “स्थिति यस्तै रहिरहे बसाइँसराइ बढ्न सक्ने चिन्ता छ। त्यसैले तत्काल क्षति न्यूनीकरण गर्न अभियान सञ्चालन गर्न लागेका हौँ।”

उनले अभियानको उद्देश्य बाँदरलाई मार्ने नभई बस्ती क्षेत्रबाट जंगलतर्फ फर्काउने रहेको स्पष्ट पारे। जंगलमा पर्याप्त आहारको अभाव भएपछि बाँदर गाउँ पस्न थालेको हुन सक्ने उनको भनाइ छ।

दीर्घकालीन समाधानका लागि सामुदायिक वन क्षेत्रमा फलफूलका बिरुवा रोप्ने, वन्यजन्तुका लागि प्राकृतिक आहारको व्यवस्था गर्ने तथा वृक्षरोपण कार्यक्रमलाई तीव्रता दिने योजना नगरपालिकाले अघि सारेको छ।

नगरपालिकाले चालु आर्थिक वर्षको बजेटमै बाँदरबाट हुने क्षति न्यूनीकरणका कार्यक्रम समावेश गरेको थियो। सोहीअनुसार केही क्षेत्रमा अस्थायी संरचना निर्माण गरी बाँदर हेरालु समेत परिचालन गरिएको छ।

मेयर माबुहाङका अनुसार सीमित स्रोतसाधनका कारण स्थानीय तहले मात्र स्थायी समाधान गर्न कठिन भए पनि किसानलाई तत्काल राहत दिन नगरपालिकाले आफ्नो तर्फबाट पहल थालेको हो। साथै, बाँदर आतंकले सिर्जना गरेको अवस्थाबारे प्रदेश र संघीय सरकारको ध्यानाकर्षण गराउने उद्देश्य पनि अभियानसँग जोडिएको उनले बताए।

Picture of तेह्रथुम मिडिया

तेह्रथुम मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।