तेह्रथुम, जेठ ५ ।
सूचना प्रविधिको तीव्र विकाससँगै पत्रकारितालाई आधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्यले तेह्रथुममा तीन दिने “ए आई पत्रकारिता सम्बन्धी एड्भान्स तालिम” आजदेखि सुरु भएको छ ।
नेपाल पत्रकार महासंघ तेह्रथुमको आयोजनामा म्याङलुङ बजारमा सुरु भएको तालिममा जिल्लाका क्रियाशील पत्रकारसहित ३० जनाको सहभागिता रहेको छ । तालिममा कृत्रिम बौद्धिकता (Artificial Intelligence) को प्रयोगमार्फत समाचार लेखन, डिजिटल सामग्री उत्पादन, तथ्य परीक्षण, भिडियो तथा फोटो सम्पादन, सामाजिक सञ्जाल व्यवस्थापन लगायतका विषयमा व्यावहारिक प्रशिक्षण दिइने आयोजकले जनाएको छ ।

तालिमका प्रशिक्षक ए आई विज्ञ अमृत बास्तोलाले पत्रकारिता क्षेत्रमा प्रविधिको प्रयोग अपरिहार्य बन्दै गएको बताउँदै ए आईको सही र जिम्मेवार प्रयोगले समाचार उत्पादनलाई अझ प्रभावकारी बनाउन सकिने धारणा राख्नुभयो । उहाँले पत्रकारले प्रविधिसँगै विश्वसनीयता, तथ्यपरकता र नैतिकतालाई समेत सँगसँगै लैजानुपर्ने आवश्यकता औंल्याउनुभयो ।

कार्यक्रम उद्घाटनका क्रममा सहभागीहरूले बदलिँदो सञ्चार प्रविधिसँग आफूलाई अद्यावधिक गर्न तालिम महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका थिए । तालिम आगामी जेठ ७ गतेसम्म सञ्चालन हुनेछ ।








