

तेह्रथुम- आठराई गाउँपालिका, कृषि ज्ञान केन्द्र, तेह्रथुमको स्वीकृत वार्षिक कार्यक्रमअनुसार आठराई गाउँपालिका वडा नं. १, डाँडागाउँमा आयोजित एक दिने बाली उपचार शिविर सफलतापूर्वक सम्पन्न भएको छ।
शिविरमा स्थानीय कृषक दाजुभाइ तथा दिदीबहिनीहरूले आफ्ना बालीहरूमा देखा परेका रोग, किरा तथा अन्य समस्याको परीक्षण गराई आवश्यक समाधानका उपायहरू पाएका थिए।
शिविरमा प्रदान गरिएका सेवाहरू:
-
तरकारी, फलफूल र खाद्य बालीहरूमा लाग्ने रोग/किराको पहिचान र व्यवस्थापनसम्बन्धी परामर्श।
-
रोग/किरा नियन्त्रणका लागि वनस्पतिजन्य विषादी निःशुल्क वितरण।
कार्यक्रममा आठराई गाउँपालिकाभित्रका कृषकहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागी कृषकहरूले शिविरबाट धेरै उपयोगी जानकारी पाएको प्रतिक्रिया दिएका छन्।
आयोजक:
कृषि ज्ञान केन्द्र, तेह्रथुम
समन्वय:
कृषि विकास शाखा, आठराई गाउँपालिका
थप जानकारीका लागि सम्पर्क:
०२४-४६५४८८, ९८४२७४८३३६, ९८५२०४९१२२, ९८५२०७००५६
काठमाडौं, – लिम्बू समुदायको परम्परा, संस्कृति र ग्रामीण जीवनशैलीका विविध आयामहरू उजागर गर्ने उद्देश्यले निर्माण गरिएको नेपाली चलचित्र ‘नाम–ओती’ राजधानीको बिग मुभिज हलमा एक विशेष समारोहका बीच सार्वजनिक गरिएको छ। चलचित्र नाङ्जङ फिल्म्स प्रा.लि.को ब्यानरमा निर्माण गरिएको हो। चलचित्रको कथा समाजमा देखा पर्ने मादक पदार्थ दुरुपयोग, पारिवारिक विघटन, र त्यसपछि हुने आत्मबोध र सुधारको प्रक्रियामा आधारित छ। कथाअनुसार, एक युवा मादक पदार्थको लतमा फसेपछि उसले परिवार र समाजसँगको सम्बन्ध बिगार्छ। जब पत्नीले छाडेर जान्छिन्, त्यसपछि मात्र ऊ आफैंलाई बुझ्न थाल्छ। पश्चातापपछि उसले आफूलाई सुधारेपछि समाज सेवामा होमिन्छ र स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा अध्यक्ष पदमा विजयी हुन्छ।
चलचित्रले “आफूलाई बुझ्न सके समाजमा परिवर्तन ल्याउन सकिन्छ” भन्ने सशक्त सन्देश दिन्छ। लिम्बू समुदायको विवाह, मृत्यु संस्कार, परम्परागत पोशाक, गहना र सामाजिक परम्परालाई चलचित्रमा जीवन्त रूपमा प्रस्तुत गरिएको छ। चलचित्रले लिम्बू संस्कृति मात्र होइन, पूर्वी नेपालको ग्रामीण जीवन, अभाव, संघर्ष र सामाजिक यथार्थलाई प्रभावकारी रूपमा चित्रण गरेको छ।
चलचित्रमा नेपाल पत्रकार महासङ्घ तेह्रथुमका अध्यक्ष टिआर सेनेहाङ र कलाकार पूर्ण साँवा प्रमुख नायकको भूमिकामा छन्। हाङमा थेबे र रुबिना श्रेष्ठ मुख्य नायिकाका रूपमा देखिएका छन्। अन्य कलाकारहरूमा दुर्गा ईङ्नाम, सङित आङ्खेवा, ज्योती लिम्बु, कुमारी लिङ्देन, हस्तमाया फुरुम्बो, देउमान लिम्बु, डम्बर श्रेष्ठ, अनिता श्रेश्ठ, टेकराज तिगेला, पदममाया लिम्बु लगायत कोशी प्रदेशका विभिन्न जिल्लाका स्थानीय कलाकारहरूको उल्लेखनीय सहभागिता रहेको छ।

चलचित्र दिलिप फुरुम्बोको निर्देशनमा तयार भएको हो। निर्माताका अनुसार चलचित्र कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा प्रदर्शन गरिनेछ भने विदेशमा रहेका नेपाली समुदायबीच पनि प्रदर्शनको तयारी भइरहेको छ। ‘नाम–ओती’ चलचित्रले समाजमा सुधार सम्भव छ भन्ने विश्वास दिलाउँछ। साथै, यो चलचित्र लिम्बू समुदायको मौलिकता, ग्रामीण जीवनको यथार्थ, र सकारात्मक सामाजिक परिवर्तनको सन्देश बोकेर आएको छ। नेपालभित्र र बाहिर रहेका नेपाली दर्शकका लागि यो चलचित्र सांस्कृतिक चिनारी र सामाजिक चेतनाको बलियो माध्यम बन्ने अपेक्षा गरिएको छ।




