
तेह्रथुम, भदौ २४ ।
देशभर फैलिँदै गएको ‘जेन जि आन्दोलन’ अन्तर्गत सोमबार तेह्रथुममा पनि प्रदर्शन गरिएको छ । सदरमुकाम म्याङलुङ बजारको टुढिखेलबाट सुरु भएको शान्तिपूर्ण ¥याली विभिन्न ठाउँ परिक्रमा गर्दै लोकतान्त्रीक चोक हुँदै जिल्ला प्रशासन कार्यालय पुगेपछि कार्यक्रम सम्पन्न भएको हो ।

म्याङलुङ नगरपालिका क्षेत्रमा आयोजित सो ¥यालीमा करिब पाँच सयभन्दा बढी युवाको सहभागिता रहेको आयोजकले बताएका छन् । सहभागीहरुले भ्रष्टाचार अन्त्य, असमानता विरुद्ध र शैक्षिक, सामाजिक तथा राजनीतिक क्षेत्रमा देखिएका अन्यायप्रति आवाज उठाउँदै नारा लगाएका थिए ।

शान्तिपूर्ण रुपमा सम्पन्न भएको सो ¥यालीमा विद्यार्थी, विभिन्न संघ–संगठनका प्रतिनिधि तथा सर्वसाधारणको समेत उपस्थिति देखिएको थियो । आयोजकहरुले आन्दोलनलाई निरन्तरता दिने र माग सम्बोधन नभएसम्म चरणबद्ध कार्यक्रम सञ्चालन गर्ने बताएका छन् ।


तेह्रथुम, भदौ २४– देशभर चर्चामा रहेको जेन्जी आन्दोलन अब तेह्रथुममा पनि हुने भएको छ। जेन्जी समूहले भदौ २४ गते मंगलबार बिहान ११ बजे म्याङलुङ बजारको लोकतान्त्रिक चोकमा प्रदर्शन गर्ने जनाएको छ।
समूहका एक युवा अभियन्ता सागर खुलालका अनुसार आन्दोलनका क्रममा सरकारद्वारा विद्यार्थीहरुको हत्या गरिएको घटनाको विरोध गरिनेछ। साथै, मुलुकमा बढ्दो भ्रष्टाचार, गैरजिम्मेवार शासन प्रणाली र अन्यायपूर्ण व्यवहारको विरुद्ध आवाज उठाइने जनाइएको छ।
खुलालका अनुसार हिजो अन्य स्थानमा भएको प्रदर्शनमा पनि विद्यार्थीहरुको उत्साहपूर्ण सहभागिता देखिएको थियो। सोही निरन्तरतामा म्याङलुङमा हुने प्रदर्शनमा विद्यार्थी, युवा र सचेत नागरिकहरुलाई सहभागी हुन आह्वान गरिएको छ।
जेन्जी समूहले यसअघि पनि काठमाडौंसहित विभिन्न स्थानमा ¥याली र विरोध कार्यक्रम गर्दै आएको छ। उनीहरुले शान्तिपूर्ण तरिकाले सरकारलाई चेतावनी दिने बताउँदै आएका छन्।




