
तेह्रथुम, मंसिर १३
जिल्ला प्रशासन कार्यालय तेह्रथुमले नेपाल पत्रकार महासंघ, तेह्रथुम शाखाका नवनिर्वाचित पदाधिकारीहरुलाई विशेष कार्यक्रमको आयोजना गरी बधाई तथा शुभकामना दिएको छ। जिल्ला प्रशासन कार्यलयको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मिना अर्यालले नेपाल पत्रकार महासंघ तेह्रथुमका नवनिर्वाचित अध्यक्ष टिआर सेनेहाङ लगायत सम्पुर्ण पदाधिकारीहरुलाई अबिर खदा लगाईदिएर शुभकामना व्यक्त गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी मिना अर्यालको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रशासन र पत्रकारिताबीचको सम्बन्ध सुदृढ बनाउँदै पत्रकार महासंघले जिल्लाको सामाजिक, आर्थिक, र राजनीतिक विकासमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याइएको थियो।
प्रजिअ अर्यालले सम्बोधनमा भन्नुभयोे, “पत्रकारिता लोकतन्त्रको मेरुदण्ड हो। यसले मात्र नागरिकका आवाजहरुलाई सम्बोधन गर्न सक्छ। नवनिर्वाचित पदाधिकारीहरुले यस भूमिकालाई अझै प्रभावकारी बनाउँदै जिल्लामा हुने गतिविधिलाई पारदर्शी बनाउने काम गर्नुहुनेछ भन्ने विश्वास लिएका छौँ।” उहाले पत्रकारहरुलाई सत्यतथ्य समाचार सम्प्रेषण गर्न आग्रह गर्दै प्रशासनले पत्रकारहरुसँग सहकार्य गर्न सधैँ तत्पर रहेको पनि बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ, तेह्रथुम शाखाका नवनिर्वाचित अध्यक्ष टिआर सेनेहाङले आफ्नो मन्तव्य राख्दै प्रशासन र पत्रकारिताबीचको सहकार्यलाई अझ प्रगाढ बनाउँदै अघि बढ्ने योजना सार्वजनिक गर्नुभयो । उहाले भन्नुभयो “जिल्लामा पत्रकारिताको प्रभावलाई अझै बढाउँदै नागरिकका समस्यालाई उजागर गर्न र समाधान खोज्न महासंघ क्रियाशील रहनेछ। हाम्रो लक्ष्य भनेको समाजलाई जिम्मेवार बनाउनु र सुशासनको प्रत्याभूति दिलाउनु हो।”
सो कार्यक्रममा पत्रकार महासंघका अन्य पदाधिकारीहरुले पनि आफ्नो धारणा राख्दै पत्रकारिताको चुनौती र अवसरबारे चर्चा गरेका थिए । उनीहरुले विशेष गरी ग्रामीण भेगका विषयवस्तुहरु प्राथमिकताका साथ उठाउनुपर्नेमा जोड दिएका छन् । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी विक्रम लिम्बु र शाखा अधिकृत वालकृष्ण लिम्बुले पत्रकारिताको जिम्मेवारीलाई सम्मान गर्दै भविष्यमा पनि प्रशासन र पत्रकारबीच सहकार्य कायम राख्न तयार रहेको बताउनुभयो ।




