२०८३ जेष्ठ ३ आईतवार

तेह्रथुम, जेठ २ गते । “अर्थतन्त्र मापनका लागि आर्थिक गणना” भन्ने मूल नारासहित सञ्चालन भइरहेको दोस्रो राष्ट्रिय आर्थिक गणना २०८२ लाई सफल बनाउन तेह्रथुममा जिल्ला आर्थिक गणना समन्वय समितिको दोस्रो बैठक सम्पन्न भएको छ ।जिल्ला प्रशासन कार्यालय तेह्रथुममा प्रमुख जिल्ला अधिकारी बन्दना राईको संयोजकत्वमा सम्पन्न बैठकले जिल्लाभर सञ्चालन भइरहेको आर्थिक गणनाको प्रगति, तथ्याङ्क संकलनको अवस्था तथा आगामी कार्ययोजनाबारे छलफल गर्दै विभिन्न निर्णय गरेको हो ।बैठकमा प्रस्तुत विवरणअनुसार हालसम्म तेह्रथुम जिल्लामा कुल २ हजार ८० आर्थिक प्रतिष्ठानहरूको गणना सम्पन्न भएको जनाइएको छ । यो संख्या पहिलो राष्ट्रिय आर्थिक गणना २०७५ को तुलनामा करिब ६१ प्रतिशत बढी रहेको जिल्ला आर्थिक गणना अधिकारी जीत बहादुर कोईरालाले जानकारी दिनुभयो ।

।बैठकले सञ्चालन भइरहेको आर्थिक गणनाको बाँकी कार्य तोकिएको समयभित्र सम्पन्न गर्ने, सबै प्रतिष्ठानको पूर्ण गणना सुनिश्चित गर्न स्थानीय तहसँग आवश्यक समन्वय र सहजीकरण गर्ने तथा सुपरिवेक्षक र गणकहरूलाई थप सक्रिय बनाउने निर्णय गरेको छ । त्यस्तै, राष्ट्रिय आर्थिक गणनासम्बन्धी तथ्याङ्क संकलन कार्यको नियमित अनुगमन र सुपरिवेक्षण गर्ने निर्णय पनि गरिएको छ ।

बैठकमा प्रमुख जिल्ला अधिकारी बन्दना राई,जिल्ला आर्थिक गणना अधिकारी जीत बहादुर कोईराला, निमित्त कोष नियन्त्रक भरत थापा, जिल्ला प्रहरी कार्यालयका प्रमुख लक्ष्मण ओली, म्याङलुङ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुविर श्रेष्ठ, उद्योग वाणिज्य संघका अध्यक्ष तारावीर श्रेष्ठ, निर्माण व्यवसायी संघका महासचिव राजेन्द्रराज जोशी, यातायात व्यवसायी संघका अध्यक्ष दिनेश भट्टराई, होटल व्यवसायी संघका अध्यक्ष प्रकाश श्रेष्ठ,नेपाल पत्रकार महासंघ अध्यक्ष टिआर सेनेहाङ,सहायक प्रमुख जिल्ला अधिकारी वाकृष्ण लिम्बु,सहायक आर्थिक गणना अधिकारी सुनिल सिटौला लगायतको सहभागिता रहेको थियो ।

त्यसैगरी नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा सञ्चालन गरिएको राष्ट्रिय आर्थिक गणना २०८२ अन्तर्गत देशभरका उत्पादन तथा सेवा क्षेत्रसँग सम्बन्धित प्रतिष्ठानहरूको विवरण संकलन, प्रशोधन, विश्लेषण र प्रकाशन गरिने जनाइएको छ । आर्थिक गणनाका क्रममा गणक तथा सुपरिवेक्षकहरू प्रतिष्ठान तथा व्यवसाय स्थलमै पुगेर विवरण संकलन गर्ने व्यवस्था रहेको छ । गणनामा सूचीकरण फाराम तथा मुख्य प्रश्नावलीमार्फत प्रतिष्ठानको दर्ता, स्वामित्व, व्यवसायको प्रकृति, रोजगार अवस्था, लगानी, ऋणमा पहुँच, बीमा लगायतका आर्थिक गतिविधिसम्बन्धी विस्तृत विवरण संकलन गरिने राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।

साथै, संकलित विवरणहरू तथ्याङ्क ऐन २०७९ अनुसार पूर्ण रूपमा गोप्य राखिने र कर वा अन्य प्रशासनिक प्रयोजनका लागि प्रयोग नगरिने स्पष्ट पारिएको छ । आर्थिक नीति निर्माण, योजना तर्जुमा, निजी क्षेत्रको अवस्था विश्लेषण तथा स्थानीय तहको आर्थिक विकास रणनीति निर्माणमा यस गणनाले महत्वपूर्ण आधार प्रदान गर्ने विश्वास लिइएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणनालाई राष्ट्रकै साझा अभियानका रूपमा उल्लेख गर्दै सबै उद्योगी, व्यवसायी, संघसंस्था तथा नागरिकलाई सही तथ्याङ्क उपलब्ध गराई अभियानलाई सफल बनाउन आग्रह गरेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।