२०८१ पुष ८ सोमबार

याक्थुङ कला चेतको उत्कृष्ठ प्रयोग “ताप्लेजुङग्या थाङबेनहा”

                                                                                                      कृष्णकुमार हेम्ब्या कुवाकुजा

 

माङगेना चोत्लुङ आजोन्छिवी

ना कन्ना निङवान आवोक्सिबी

 

पान्थरका मेन्छ्यातर्फ माइतीको सहयोगमा ताप्लिजङका आफ्ना पुराना तन्देरीहरुलाई पत्र लेखि पान्थर यासोक त्रिशाली मेलामा यालाङको आमन्त्रण गरिन्छ । ताप्लिजङगे थाङबेनहरु आफ्ना पुरना मेन्छ्याहरुले यालाङ निम्तो पठाएकोमा उत्साहित हुन्छन । थाङबेनतर्फका पालाम भन्ने नायकनै खर्च अभावमा मेलाबजार जान असमर्थ हुने असहज परिस्थितिलाई अर्का साथीले सहयोगको वचन दिएसंगै एक हुल ताप्लिजङगे थाङबेनहरु त्रिशाली मेलातिर हुतिन्छन ।

 

उता मेन्छ्यातर्फका दुई युवती एक पङ रक्सी कोशेली बोकेर गहना माग्न एक भलादमी महिलाको घरमा गएको रमाईलो दृश्य छ । ती महिला भन्छिनः “आजकाल तिमारको बिश्वास छैन, मेरो समान लिएर टाप कस्यौं भने रु” युवती भन्छिन म फच्चा गएभने भ्यासाराङसहित पठाउछु । 

 

“खै हाऊ, खबर त पठाएकै हो, मेरो मनले त आउछनजस्तै लाग्छ” निम्तो दिएका कुञ्जारी बखिमका तीनताले ठूले आउने नआउने अन्योलकाबीच पान्थरे मेन्छ्याहरुको सम्बाद निकै रमाइलो र रोमान्चिक लाग्छन ।

 

निम्तालु थाङबेनहरु पान्थर त्रिशाली मेला पुगेर माइतीसंगै बसेका मेन्छ्यहरुसंग यालाङको लागि अनुमति माग्दछन । एकजना माइतीले जवाफ फर्काउछनः “भइ हाल्छनि, यो उहिले हाम्रो बाजेबजुको पालादेखि चल्दै आएको रिति हो र सबैले आफ्नो संस्कृति जोगाउन इज्जतका साथ मेरा चेलीहरुसंग धान नाच्नुहोला ।”

 

पातको पिपिरी र हाक्पारेको धुनसंगै निम्तालु पाहुना थाङबेनलाई स्वातग गरिन्छ । यालाङ थालनी थाङबेनबाट हुन्छ । त्रिशाली मेला याक्थुङहरूको ऐतिहासिकस्थल कुम्मायक र कुस्सायकमा प्रत्येक तीन वर्षमा याक्थुङहरू जम्मा भई युमा माङको सेवा गर्ने र युवायुवतीहरु यालाङ गर्दछन ।

 

मेलाको समापनपछि मेन्छ्यातर्फ बिशेष खानपानसहित थाङबेनहरुलाई बिदादिने कार्यक्रम हुन्छ । छुटिने समयमा ताप्लिजङगे थाङबेनहरुले पान्थरे मेन्छ्याहरुलाई आफ्नो गाउँमा यालाङको मौखिक निम्तो दिन्छन ।

 

ताप्लीजङ पुगेका मेन्छ्याहरुलाई सेली, छनुवा, याङबेनसंगै भब्य स्वागत गर्दै माथि मुकुम्लुङ माङको दर्शन गराईन्छ । त्रिशाली मेलामा थाङबेनहरुबाट प्रस्तुत तुममुइँ पालामको जवाफ पान्थरे मेन्छ्यहरुले माथि ताप्लिजङमा गएर फर्काउछन । केटीतर्फको सेममुइँ पालमसंगै उपहार साटासाट र अन्तमा माटो छोएर पुसेमेलामा भेट्ने बाचा गर्दै ताप्लेजुङग्या थाङबेनहा पालाम भिडियोको अन्त हुन्छ ।

 

याक्थुङ कला चेतको उत्कृष्ठ प्रयोग

ताप्लेजुङग्या थाङबेनहा भिडियोको सबैभन्दा सुन्दर पक्ष भनेकै पातको पिपिरीबाट सुरु भएर सुशेलीमा अन्त भएको मौलिक याक्थुङ सांस्कृतिको प्रयोग हो । उहिले भाषाको विकास नहुंदा हाम्रा पुर्खाहरु ढुंगा, काठको आवाज, पातको पिपिरी, शुशेली, च्याब्रुङको अलाप विलाप जे छ त्येसैको आवजले सञ्चारको काम गरिन्थ्यो । एक अर्कोसंग बोलेर सम्पर्क गर्ने बोली र भाषा विकास नहुँदै मान्छेहरु सुख, दुख, खतरा सन्देश आदनप्रदान दिन किसिम किसिमका आवाजहरु निकाल्थे । आपतविपत पर्दा वा कुनै खुशियालीमा सोही अनुसार खतरा वा शुभ सन्देश दिने आवाजहरु जन्मन्दै गए । त्येसैले बोली, भाषाभन्दा जेठो पात, शुशेली, मुचुङगा याक्थुङ कला चेतको उत्कृष्ठ प्रयोग हो ।

 

उहिले मेन्छ्या थाङबेन आपसमा सम्बादको लागि मोबाइल फोन थिएन । आवतजावतका यातायत थिएनन । खासगरी छोरीचेलीहरुलाई लेखपढ आइदैन थियो । तरपनि उनिहरु आफ्ना माइतीलाई चिठपत्र लेखाएर थाङवेनलाई पठाउथे । ताप्लेजुङग्या थाङबेनहामा पान्थरे मेन्छ्याहरु डाँडाघरे साहिली, टारबारी कान्छी, सिराने ठूली, छेउघरे कान्छीले माथि ताप्लेजुङका थाङबेनहरुलाई पत्रमार्फत निम्तो दिइने चालिसको दशक उताको लिम्बुवानको परिदृश्यलाई सफलतापूर्वक देखाउन खोजिएको छ । कुटुम्बाहरुलाई मेरै छोरीचेलीहरुसंग धान नाच भन्नु याक्थुङ समाजको खुला र उदार संस्कृतिको सुन्दर पाटो हो । 

 

उहिले लिम्बुवानको बिभिन्न थुमहरुमा तीनदेखि सातरातेसम्मका अनेक मेलाबजार लाग्दथे । मेलाबजारमा आफूलाई खानपान, पाहुनाहरुलाई खुवाउनु, कोशेलीको लागि अतिरित्त खर्च चाहिन्थ्यो । त्यो समय नगद आम्दानीको खासै स्रोत थिएन । मेला बजार जान खर्च जुटाउन छोरा मान्छेहरु भारी बोक्थे, कतै हुने खानेको खेतबारी काम गरिन्थ्यो । छोरी मान्छेहरु पेवा पहिकारनै बजार खर्चको प्रमुख स्रोत थियो । सबैसंग लुगाफाटा गरगहना हुंदैन थियो र हुनेकामा गएर माग्ने चलन थियो । गरगहना चलायबापत कोशेली दिनुपथ्र्यो । आजभन्दा चारदशक अघि याक्थुङ समाजले भोगेका यावत पक्षहरुलाई “ताप्लेजुङग्या थाङबेनहा” यालाङमार्फत कलात्मक तरिकाले देखाउनु प्रसंसनीय कार्य हो ।

 

छुटिनु बेलामा आपसमा पथाङ, ऐना, परी, रुमाल, मिठाई आदि कोशेली आदनप्रदान गरिन्छ । उहिले आफ्नो गाउँमा आएकालाई संगुर, रागा काटेर फुःदोङ दिने चलनसमेत थियो । सेममुइ साम्लो अत्यन्तै पीडाजनक भएपनि अर्को मेलाबजार वा कुनै निश्चित दिन वा खालामा भेट्ने भाका राखिन्छ र यसले फेरी भेट हुने आश पलाइृ दिन्छ । कसैले निर्धारित समयभन्दा धेरै समय खर्चेर मात्र छुटेका अनेकौं घटनाहरु छन् । यो भिडियोमापनि छुटिने समयमा हुने हाङमाङवा र कोशेली साटासाट लोभलाग्दा दृश्यहरु प्रशस्तै स्थान पाएका छन । यहाँ याक्थुङ जातिको हेनामोमा संस्कारलाईसमेत छुट्याइएको छैन ।

 

त्रिशाली मेलाबाट बिदा हुने बेलामा तीनताले ठूलेले टेबलमा राखेको मचुङगा टारबारी  कान्छीले कसैले नदेख्नेगरी लुकाउछिन । त्यो मुचुङगा पछि ताप्लिजङबाट छुटिने अन्तिम समयमा आफ्नो थाङबेन तीनताले ठूलेलाई ससम्मान फर्काएको छ । मुचुङगा लुकाउने घटना फेरी भेट्न सकियोस भन्ने अर्थ लगाउन सकिन्छ । उहिले माया प्रेमको आशक्तिले गाऊँघरमा पाहुना आएका मेन्छ्याले थाङबेनको र थाङबेनले मेन्छ्याको घरमा सजाएर राखेको फोटो फ्रेमबाट फोटो चोरेर लाने गरिन्थ्यो ।

 

केहि छुटे कि ?

 

केही छुटेका पक्षहरुपनि टिप्पणी गर्नेपर्ने हुन्छ ।

 

                पत्र पठाएर निम्तोदिने पान्थरे मेन्छ्याहरुले पालाम सुरु गर्नु पर्नेमा टाढो बाटोबाट आएका ताप्लिजङगे तरेवाहरुले तुममुई पालाम सुरु गरेको व्यवाहरिक देखिन्दैन । जुन पक्षको गाउँघर, मेलावजार नजिक छ तिनै समूहले स्वागत गर्दै पालम सुरु गर्नु पर्ने थियो । यालाङ सुरु हुनुअघि आफ्नो गाउँ ठाउँदेखि आमा बाबु दुबैतर्फ तीनपुस्ते खुलाएर साइँनो संबन्ध बिवरण लयात्मक ख्याली (काइ सेन) मा परिचय गर्नु पर्नेमा यहाँ सुरुमै हाक्पारेको गुञ्जन प्रयोग गरिएको छ । यालाङको प्रबेशविन्दु हाक्पारे नभइ ख्याली हो । चारदशक पहिलको यालाङ संस्कृति पृष्टभूमीमा सिलाम साक्मा नदेखाएको भए हुने थियो ।

 

समय ठाउँ, परिवेश अनुसार यालाङ छतरे, पान्थरे, फेदापे, चारखोले, तामरांगे याङ्रुरुके आदि थुमपिछे खासगरी पालम गाउँने भास र शैली केही भिन्नता हुन्छन् । यो भिडियोमा पान्थरे मेन्छ्यातर्फ ‘पान्थरे भास’र माथिकाले माथिकै ‘याङवरके भास’ मा पालाम भनेको भए अझ राम्रो हुने थियो । किनकि केटा पक्षका नायक तीनताले ठूले याङवरक कुञ्जारी वखिमका हुन । यो पालाम म्युजिक भिडियोको नाम जुराउनु ताप्लेजुङग्या थाङबेनहाको सट्टा ताप्लेजुङकै याङवरक, तमोरखोला मैवाजस्ता याक्थुङ लाजेका ऐतिहासिक थुमहरुको नामबाट आएको भए अझ सुन्दर सान्धर्भिक हुने थियो ।

 

पालामी शब्द अन्य सन्धर्भहरु

 

                आलुङमा लुम्लो चिक्खुङकत्तुङ

                मिक्वानु चकचक इत्तुङकत्तुङ

                शान्ता केरुङ आफैमा कुशल पालाम साम्लो स्रष्टा हुन । पछिल्लो समय उनले संकलन गरेका पालामी शब्दहरु अब्बल छन । ताप्लेजुङग्या थाङबेनहामा शान्ताका शब्दहरु अझ मुन्धुममय लाग्छन् ।

 

रेकर्डिङ स्टूडियो युगमा प्रबेसपछि पालाम साम्लो शब्द र भास संकलन कि रचना बिवाद हुंदै आएकाछन  । यस्ता गलत परम्परालाई तोड्दै शान्ताले ताप्लेजुङग्या थाङबेनहामा उनका पालामी शब्दहरुलाई संकलन भन्दै याक्थुङ संस्कृतिको सही बाटो समात्ने प्रयास गरेकी छिन ।

 

                हरि मादेन, जानुका आङभाङ, कुमार लक्सम्बा र कृष्णप्रसाद लिंखिमको संयुक्त लगानीमा निर्मित ताप्लेजुङग्या थाङबेनहा पालाम साम्लो निर्देशनमा अब्बल नाम दर्जा आर्जन गरेका रबी शेर्मा हुन । रबीले आफ्नो याक्थुङ कला चेतलाई भरपूर प्रयोग गर्न सफल भएकोमा सन्देह छैन ।

 

                आशराज बखिमको सिङजाङगो फुङनाम, थपा फुङ, मिम्जिफुङ, सिर्पंङगेनु, पथाइङले कुसुप्पोको अपार सफलतापछि ताप्लेजुङग्या थाङबेनहा आएको छ । याक्थुङ पालाम साम्लो दुँनियामा एकक्षत्र राज गरेकी मनु नेम्बाङ आशराजको सहयोगी भएरपनि सदाझै एक जिम्मेवार अभिभावककोरुपमा सफल देखिन्छीन ।

 

मनु नेम्बाङ र आशराजको मिम्जिीफुङ पालाम साम्लोले अहिलेसम्मकै राम्रो भ्यु पाएको थियो । शान्ता केरुङको पालामी शब्द संकलनमा आशराज र मनुको जोडीले अर्को ऐतिहासिक रेकर्ड कायम राख्ने आशा गर्न सकिन्छ ।

 

यालाङ कलाकार जीवन केदेम, कृष्णप्रसाद लिंखिम, डिबी माङयुङ, कुमार लक्सम्बा, गंगा शेर्मा, हरी मोदन, जानुका आङभाङ, मैया खजुम, कृष्णकला आङभाङ आदिले जिवन्त तरेवा तरेमाको भूमिका निर्भाह गरेका छन ।

 

टुंग्याउनी,

संख्याका हिसाबमा आशराजका पालाम साम्लो रेकर्ड आधादर्जन पुगेका छैनन । थोरै तर ठेठ याक्थुङ संस्कृति सृजना उनको असली ट्रेडमार्क हो । याक्थुङ समुदायबीच लोकप्रिय पालाम साम्लो संकटको संघारमा आशराज बखिमजस्ता थुप्रै स्रष्टाहरुले आशा जोगाइ दिएको छ ।

 

ताप्लेजुङग्या थाङबेनहा आशराजको परिकल्पना हो । यसलाई मरमसला थपेर निर्देशक रबीले याक्थुङ यालाङ संस्कृतिको कोशे ढंगा बनाई दिए । याक्थुङ समाजलाई एक सूत्रमा बाँधेर राख्ने माध्यम पालाममा याक्थुङ सृष्टि र सभ्यताको गाथा, संस्कृति आदानप्रदान, हाँसखेल, माया र पिरतीदेखि र मृत्युसम्मका सन्देशहरु अभिव्यक्त हुन्छन । सांस्कृतिक दृष्टिले हामी सावा येत्हाङहरुको गाऊघरको जीवन शैली, र त्यहाँको हावापानीबाट निस्केको सुगन्धपनि ‘ताप्लेजुङग्या थाङबेनहामा’ पाइन्छन ।

 

पछिल्लो समय पालाम साम्लो रेकर्ड गरी भिडियो बनाउने होडबाजि चलेको छ । निश्चयनै यसले हाम्रो यालाङ संस्कृति सरंक्षणमा ठूलो योगदान दिन्छनै । तर कतिपय भिडियोहरु टिप्पणी गर्न योग्य हुँदैनन । आशराजद्धारा निर्मित पालाम साम्लोका शब्द चयन, यालाङ छायांकनस्थल नितान्त मौलिक याक्थुङ संस्कृतिका लोभलाग्दा दृश्यहरु हुन्छ ।  

Picture of तेह्रथुम मिडिया

तेह्रथुम मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।